मोरङको बुढीगंगाका एक पुरुष हाइटेन्सन प्रसारणलाइनमा चढेका छन् । बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेश माझी एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा चढेका हुन् ।
सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै उनी आज बिहान ६ बजे हाइटेन्सन लाइनमा चढेका थिए । उनलाई त्यहाँबाट झार्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।
सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै माझी हाइटेन्सन प्रसारण लाइनमा चढेका हुन् ।
उनलाई उतार्नका लागि परिवार, आफन्त, प्रहरीले र वडाअध्यक्षले प्रयास गरेका थिए । तर उनले गाउँपालिका अध्यक्ष जितनारायण थापामगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार आएर काम रोक्ने प्रतिबद्धता जनाउनु पर्ने माग गरेका छन् । उनले आफ्नो मागलाई वेवास्ता गरे आत्महत्या गर्ने चेतावनी समेत दिएका छन् ।