काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकता हुन नसक्ने स्पष्ट पारेका छन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीको जिज्ञासामा उनले विचार मिल्नेसँग एकताका लागि पहल सुरु गरिएको भन्दै एमालेसंग भने अहिलेको अवस्थामा एकता हुन नसक्ने स्पष्ट पारेका हुन् ।
यस्तै अध्यक्ष नेपालले सरकार कुन ढङ्गले अघि बढ्छ त्यसको विश्लेषण गरेर मात्रै विश्वासको मतबारे निर्णय लिने बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति व्यक्तिगत रुपमा आफू सकारात्मक रहेको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले भने, “एमालेसँग एकता गर्ने विषयमा मलाई कसैले पनि केही भनेको छैन् । व्यक्तिगत भावना राख्नेको बेग्लै कुरा भयो। म प्रति सद्भाव राख्नेको बेग्लै कुरा हो, सद्भाव राख्नेहरु सबैलाई धन्यवाद छ। तर त्यो भावना निजात्मक भइदियो भने त्यसको कुनै अर्थ नहुँदो रहेछ।”
एकीकृत समाजवादी पार्टी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, सुदृढ गर्ने अभियानमा अगाडि बढ्ने उनले बताए । उनले भने, “अब विश्वासको मतको बारेमा हामीले जम्मै प्रश्नको विषयमा विश्लेषण गर्नेछौं। व्यक्तिगत रुपमा प्रचण्डजीप्रति मेरो पोजेटिक नै धारणा छ। जहाँसम्म सरकार कुन ढङ्गले अगाडि बढ्छ, त्यो हेरिकन हामी टुङ्गो गर्छौं।”
उनले जनता समाजवादी पार्टीसँग तत्काल एकता प्रक्रिया सुरु हुने भन्नुहुँदै साना वामपन्थी दलसँग एकता र सहकार्यका लागि अघि बढ्ने बताए । “अब हामी पार्टी निर्माण गर्ने अभियानमा जुट्ने हो । पार्टीलाई सुदृढ गर्ने र विस्तार गर्ने राष्ट्रव्यापाी अभियान लिएर अघि बढ्छौं। हाम्रो ध्यान जनताका इस्युहरु, राष्ट्रका इस्युहरु उठान गर्ने कुरामा केन्द्रीत हुनेछ”, उनले भने ।