काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले इलामका प्रेम प्रसाद आचार्य आत्मदाहको प्रमुख कारण राज्य भएको बताएका छन् । उनले आत्मदाहलाई राज्य विरुद्धको विद्रोह भनेका छन् ।
आचार्यको निधनपछि बालेनले लेखेका छन्, ‘एकजना नागरिक आफुले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफुले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो ।’ उनले आत्मदाह प्रकरणलाई राज्य असफल बन्दै गएको संकेतको रुपमा टिप्पणी गरेका छन् ।
‘आचार्यको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।’बालेनले भने ।