काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अनुहार हेरेर सरकारलाई समर्थन नगर्ने बताएका छन् । बुधबार युवा संघ, नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भनेका छन्, ‘हामी नेताको अनुहार हेरेर मात्रै सरकारलाई समर्थन गर्दैनौँ ।’
त्यसअघि उनले भने, ‘अनुहारै हेरेर सरकारको समर्थन गर्ने भए त प्रचण्डजीको अनुहार हेरेर समर्थन गर्यौँ भन्दा भैगो नि १ तर हामी त्यसो गर्दैनौँ । किनकी हामी कम्युनिष्ट पार्टी हौँ । हामी मार्स्कवाद, लेनीनवादमा विश्वास गर्ने मान्छे हौँ । प्रचण्डजीको अनुहार हेरेरमात्रै समर्थन गर्ने कुरा हुँदैन ।’
यस्तै नेपालले आफ्नै कमजोरीले गत निर्वाचनमा समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेको स्वीकारेका छन् । अध्यक्ष नेपालले जनता आफूहरुको पक्षमा भए पनि त्यसलाई बाकसमा खसाल्न र गन्न सक्ने अवस्था सृजना नगरेको बताएका हुन् ।
‘थ्रेस होल्ड पारे गरेको भए, हामीलाई हेलिकप्टर दिन्थ्यो कि हवाइ जहाज दिन्थ्यो कि, पार्टीको अफिस राख्न घर दिन्थ्यो कि, रकम दिन्थ्यो कि, केही पनि दिँदैन थियो,’ अध्यक्ष नेपालले भने, ‘हामीले खटेर काम गर्न सकेको भए, १५ सिट हुन्थ्यो कि ।’
साथै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने विषय २६ पुसभित्र निर्णय गर्ने बताएका छन् । राजनीतिक अवस्था प्रष्ट नभएकाले अहिले नै सरकारबारे बोल्न हतार नभएको उनको भनाई थियो ।
उनले अहिलेको सरकारको ‘पिक्चर क्लियर’ नभएको बताए । ‘यो सरकारले कस्तो नीति तथा कार्यक्रम लिन्छ भन्ने नै थाहा छैन । २६ गते हो प्रधानमन्त्रीजीले विश्वासको मत लिने, हामी त्योबेलासम्म निर्णय लिन्छौँ,’ अध्यक्ष नेपालले भने ।
उनले एकीकृत समाजवादी अरु दलहरूभन्दा फरक भएको दाबी गरे । ‘सरकारलाई कहिले समर्थन गर्ने भनेर सोधिरहेका छन् साथीहरूले । हामी यत्तिकै सरकारलाई समर्थन गर्दैनौँ । हाम्रो ध्यान भनेको जनता र देश हो । सत्ता होइन,’ उनले भने ।