नेपालसित पैसाको कमी भएका कारण विदेशीलाई नेपालमा लगानी गर्न आकर्षित गर्नुपर्ने नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
वीरगञ्जमा सोमबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले यस्तो बताएका हुन्। नेपालमा खनिज पदार्थको उत्खन्न गर्न सके देशमै नयाँ नयाँ उद्योगधन्दा बिस्तार गर्न सकिने नेपालले जानकारी दिए ।
विदेशीलाई लगानीका लागि आकर्षित गर्नुभन्दा पहिले नेपालकै लगानीकर्तालाई प्रोत्साहित पनि गर्नुपर्ने तर सरकारको त्यस्तो किसिमको नीति नरहेको जिकिर उनले गरे। नेपालमै उत्पादन गर्न सकिने विभिन्न किसिमका सामान आयात गर्न आफूहरूले छुट दिने गरिएको नेपालको भनाइ थियो।
‘धेरै–धेरै खनिज पदार्थ उत्खन्न गर्नुभयो भने खनिज पदार्थबाट पनि नयाँ–नयाँ उद्योग धन्दा खेल्न सकिन्छ,’ उनले भने, ‘हामीकहाँ बरु पैसा कम छ, विदेशीलाई नेपालमा लगानी गर्न आकर्षित गर्नुपर्छ।’
नेपालको भन्सार नीति नै ठीक नभएकाले भन्सार नीतिलाई पूरै पुनरावेदन गर्नुपर्ने आवश्यकता रहेको नेता नेपालले बताए। आर्थिक शिथिलताको अवस्थालाई ध्यानमा राखेर सरकारले त्यसलाई तोडेर गति दिनुपर्ने उनको भनाइ थियो।
वीरगञ्जको होस् वा विराटनगरको, यहाँका उद्योगी व्यापारीसित छलफल÷अन्तरक्रिया गरेर नीति ठीक नभए त्यसलाई ठीक गर्नुपर्ने नेता नेपालले बताए।