वासिंगटन । अमेरिकाले आफ्नो भूभागमाथि उडिरहेको एउटा विशाल चिनियाँ बेलुनलाई क्षेप्यास्त्र हानेर खसालेको छ । अमेरिकाले त्यो बेलुनले मुलुकभरकै प्रमुख सैनिकस्थलहरुमा जासुसी गरिरहेको आरोप लगाएको छ ।
अमेरिकाको रक्षा विभागले आफ्नो लडाकु विमानले सो बेलुनलाई अमेरिकी भूमिको जलीय क्षेत्रमा खसालेको पुष्टि गरेको छ । यसैगरी चीनको विदेश मन्त्रालयले मानवरहित गैरसैनिक विमानलाई आक्रमण गर्न अमेरिकाले फौज प्रयोग गरेकोमा कडा असन्तुष्टि र विरोध जनाएको छ ।
अमेरिकी टेलिभिजन फुटेजहरुले एउटा सानो विस्फोटनपछि बेलुन सागरमा खस्दै गरेको दृश्य देखाएका छन् । एफ–२२ लडाकु विमानले उचाइमा रहेको बेलुनलाई खासाल्न एआईएम–९ एक्स सायडवाइन्डर क्षेप्यास्त्र प्रहार गरेको थियो ।
रक्षा अधिकारीहरुले अमेरिकी सञ्चारमाध्यमलाई भग्नावशेष साउथ क्यारोलिनाको माइटल समुद्री तट नजिकको पानीको ४७ मिटर गहिराइमा खसेको बताएको छ । बीबीसी