विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ठूलो पार्टी भएकाले कुनै पनि दिन कांग्रेस सत्तामा आउन सक्ने बताएका छन् । नेकपा (एमाले)का कारण माओवादी केन्द्रले सत्ता नेतृत्व गर्ने अवसर पाएको भन्दै कोइरालाले पछिल्लो घटनाले भने कांग्रेस वृतमा निराशा छाएको बताए ।
विराटनगरमा शनिबार नेपाल प्रेस युनियन प्रदेश–१ को पहिलो अधिवेशन उद्घाटन गर्दै कोइरालाले देशको राजनीतिक अवस्था र कांग्रेसको राजनीति पनि कठिन अवस्थामा रहेको बताए ।
“कांग्रेस ठूलो पार्टी बनेर पनि सरकार बनाउने अवसर गुम्यो । यसले सबैको चित्त दुखेको छ,” उनले भने ।सरकारलाई समर्थन गर्ने विषयमा आफूले तटस्थ बस्न आग्रह गरेको बताउँदै कोइरालाले भने, “गृहमन्त्रीले राजीनामा दिनु परेको छ । अब भोलि कसरी बढ्नुपर्ने भन्ने अवस्था आएको छ । हिजोको घटनाले देशमा कानुनी राज्य छ भन्ने पुष्टि भएको छ । न्यायपालिका सबल भएको देखिन्छ ।”
उनले राष्ट्रपतिको निर्वाचन फागुन २८ अगाडि नै हुने बताए । यो नभए अनिष्ट हुने कोइरालाको भनाइ छ । “कांग्रेसको राष्ट्रपति हुनुपर्छ हामीले पाँच वर्ष हेरिरसक्यौं, बजेट संसदमा पेस भएन । नागरिकता विधेयक रोकियो,” उनले भने, “संविधानभन्दा राष्ट्रपति माथि हुँदैन । तर, जसलाई जे मन लाग्यो त्यो गरेको देखिन्छ ।”
देशको आर्थिक अवस्था जर्जर भएको भन्दै उनले राजश्वबाट तलब दिन सक्ने अवस्था नभएको बताए । मन्त्रालय घटाउने प्रदेश सरकारको निर्णय स्वागतयोग्य भएको बताए । विराटनगरमा उधोग बन्द हुने क्रम बढेको भन्दै उनले चिन्ता व्यक्त गरे ।