काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गर्ने भनेको मोनोरेल अब सञ्चालनका लागि भौतिक संरचना नबन्ने भएको छ ।
महानगरको यसअघिका मेयर विद्यासुन्दर शाक्यले वार्षिक नीति तथा कार्यक्रममा मोनोरेल सञ्चालन गर्ने कुरा समावेश गरे पनि अहिलेका मेयर बालेन्द्र साहले त्यसतर्फ चासो नदिएको बुझिएको छ ।
मेयर साहले चासो नदेखाएपछि मोनोरेलको नबन्ने भएको हो । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार अघिल्लो सरकारका पालामा महानगरप्रमुखले मोनोरेल सञ्चालनका विषयमा पहल गरे पनि अहिलेका महानगर प्रमुखले त्यसबारेमा चासो देखाएका छैनन्।
उनले भने, “महानगरका अघिल्लो मेयर विद्यासुन्दर शाक्यले मोनोरेलको परिकल्पना गरेर वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिरहनुभएको थियो । अहिलेका मेयर साहले भने यस विषयमा कुनै चासो राख्नुभएको छैन । उहाँको प्राथमिकतामा यो विषय समावेश भएन ।” मोनोरेल निर्माणका लागि चिनीयाँ सरकारी कम्पनीले २०७६ सालमा फिजिविलिटी अध्ययन गरेको थियो । जसले मोनोरेल सम्भव हुने प्रतिवेदन दिएको थियो ।
२७।७ किलोमिटर लम्बाइ रहेको चक्रपथमा मोनोरेल सञ्चालन गर्ने योजनाअनुरूप ललितपुर महानगरसँग पनि समन्वय भएको थियो । ललितपुर महानगर पनि यस विषयमा सकारात्मक भएको जनाएको थियो । मोनोरेल सञ्चालनका लागि महानगरले कलङ्की–सातदोबाटो–कोटेश्वर–चाबहिल हुँदै पुनः कलङ्कीसम्म पुग्ने रुट बनाउने तयारी गरेको थियो ।
एक डेढ किलोमिटरमा सबस्टेशन रहने फिजिविलिटी अध्ययनको प्रतिवेदनमा उल्लेख रहेको छ । अघिल्लो सरकारका पालामा महानगरले मोनोरेलको विषयमा बजेट समेत नछुट्याएकाले अहिले कुनै योजना नरहेको मानन्धरको भनाइ छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।