काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईबीच पार्टी एकताको तयारी भएको छ । प्रचण्ड र बाबुराम ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने तयारीमा जुटेका हुन् ।
एकीकृत पार्टीको नाम नेकपा समाजवादी राख्ने करिब सहमति भएको हो। एकीकृत पार्टीको नाम परिवर्तन गर्नुपर्ने भट्टराईको सर्त मान्न दाहाल तयार भएपछि एकताको वातावरण बनेको हो ।
एकता प्रक्रिया अघि बढाउन शनिबार बिहान दाहाल र भट्टराईबीच भेटवार्ता भएको थियो । नेताहरूका अनुसार भट्टराईले पार्टीको नाममा ‘नेकपा’ पनि हटाउन माग गरेका थिए ।
तर आफूहरू ‘माओवादी’ हटाउन तयार भएका कारण नेकपा राख्नुपर्ने तर्क दाहालले गरेका थिए । पार्टी एकताको प्राविधिक तयारीका लागि दुवै पार्टीले वार्ता समिति बनाउने सहमति भएको छ । यो भेटलगत्तै बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले बृहत् वाम एकताको पहलका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली बनाएको छ ।
पाँच सदस्यीय वार्ता टोलीमा महासचिव देव गुरुङ र उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् । नेसपाले आज राजनीतिक समितिको बैठक बोलाएको छ ।
यो बैठकले पार्टी एकतासम्बन्धी वार्ताका लागि टोली बनाउनेछ । नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले भने, ‘दुवै पार्टीको वार्ता टोलीले पार्टी एकताका सबै विषयमा छलफल गरेर टुंगो लगाउँछ ।’
स्रोतका अनुसार एकीकृत पार्टीमा दाहालले प्रधानमन्त्रीका रूपमा सरकारको काममा ध्यान दिने र दोस्रो वरीयतामा रहेर भट्टराईले पार्टी काममा समय लगाउने समझदारी भएको छ । ‘
४ मंसिरमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भट्टराईको यो पार्टीले नेकपा माओवादी पार्टीकै चुनाव चिन्हमा निर्वाचन लडेको थियो । त्यति बेला नै भएको सहमतिअनुसार अब यी दुई पार्टीको एकता गर्न लागिएको हो । यसका लागि शनिबार यी दुई नेताले भेटघाटसमेत गरेका थिए ।