टर्की । टर्कीका राष्ट्रपति रिसेप तय्यप एर्दोगानले भूकम्पबाट अतिप्रभावित दक्षिण–पूर्वी क्षेत्रमा तीनमहिने संकटकाल घोषणा गरेका छन् । भूकम्पमा ज्यान गुमाउनेहरुको संख्या बढिरहेको बेला मुलुकको दक्षिण–पूर्वी क्षेत्रमा तीन महिनाका लागि संकटकाल घोषणा भएको छ ।
एर्दोगानका अनुसार टर्कीमा मात्र ज्यान गुमाउनेको संख्या तीन हजार ५४९ पुगेको छ । उनले मुलुकका १० वटा प्रमुख सहर भूकम्प प्रकोप क्षेत्रमा परेको तथा विश्वका करिब ७० वटा मुलुकबाट आफ्नो सरकारलाई सहयोगको प्रस्ताव प्राप्त भएको पनि बताएका छन् ।
साथै, राष्ट्रपति एर्दोगानले भूकम्पका कारण घरवारविहीन हुन पुगेका मानिसहरुलाई अन्ताल्या सहरस्थित होटेलहरुलमा आपतकालीन आश्रयको व्यवस्था गर्ने योजना सार्वजनिक गरेका छन् ।
दक्षिणी टर्की र उत्तरी सिरियामा भूकम्पको कारण मर्नेको संख्या पाँच हजार नाघेको छ । उद्धारकर्मीहरु दुवै मुलुकका ढलेका हजारौँ भवनका भग्नावशेषमा फसेका मानिसहरुलाई निकाल्ने प्रयासमा जुटिरहेका छन् । अन्तर्राष्ट्रिय सहयोग पनि आइरहेको छ ।
एकजना तुर्केली पत्रकारले मानिसहरुले आफू र अन्य पत्रकारहरुलाई भग्नावशेष भित्रको आफूहरु फसेको स्थानबारे जानकारीसहित भिडियो र भ्वाइस नोटहरु पठाइरहेका बीबीसीलाई बताएका छन् ।
सोमबार बिहान गाजियान्टेप नजिक सात दशमलव आठ म्याग्निच्युडको भूकम्प आएको थियो । त्यसपछि, स्थानीय समयअनुसार अपराह्न करिब साढे एक बजे अर्को सात दशमलव पाँच म्याग्निच्युडको भूकम्प गएको थियो ।
तर, दोस्रो भूकम्प पहिलोको परकम्प थिएन । अमेरिका र दक्षिण कोरियालगायतका मुलुकहरुले टर्कीमा धमाधम सहयोग सामग्री पठाइरहेका छन् ।बीबीसी