काठमाडौं । मन्त्रिपरिषद् आज विस्तार हुँदै छ । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । सोमबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबन्डाको टुंगो लगाएको थियो ।
दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा (एमाले)ले चार मन्त्री र २ राज्यमन्त्री पठाउने भएको छ । यसअघि एमालेबाट सरकारको नेतृत्व गर्दै विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको रूपमा शपथ खाइसकेका छन् ।
सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको छलफलमा एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने गरी सहमति भएको हो । एमालेबाट आज थपिने मन्त्रीहरूमा पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारी रहेका छन् ।
त्यसैगरी दुई राज्यमन्त्रीका रूपमा रौतहटका किरण साह र पर्साका राजकुमार गुप्तालाई शपथ खुवाउने तयारी रहेको एमाले उच्च स्रोतले बताएको छ ।
यसअघि पुस ११ गते एमालेबाट यसअघि विष्णु पौडेलसहित ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारीले मन्त्रीको सपथ लिएका छन् । पौडेलबाहेक अरू मन्त्रीको जिम्मेवारी तोकिएको छैन । आज उनीहरूको जिम्मेवारी समेत तोकिने छ ।
स्रोतका अनुसार एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था, उद्योग र महिला बालबालिका मन्त्रालय पाउने सम्भावना छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राप्रपाले पनि तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछ । जनमत पार्टीले एक मन्त्री पाउनेछ ।
नागरिक उन्मुक्ति र लोसपालाई भागबन्डा गरिएको छैन ।
गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले शिक्षा मन्त्रालय र श्रम मन्त्रालय पाएको छ । उपप्रधान तथा गृहमन्त्रालय यसअघि नै रवि लामिछानले पाइसकेका छन् ।