काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न ९ वटा निर्णय गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले देशमा गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने अमेरिकी सहायता र ऋण सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गरेको छ ।
बैठकले कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरूको पाँचौँ संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलको फागुन १९ देखि २३ गतेसम्मको भ्रमणलाई स्वीकृत गरेको छ ।
त्यस्तै, बैठकले गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा ३।८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयातसम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा प्रशासकीय भवन बनाउने राष्ट्रिय वनक्षेत्रको ६ रोपनी जग्गा प्रयोग गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ । बैठकले सहिद घोषणा भई राजपत्रमा नामावली प्रकाशन हुन बाँकी रहेका सहिदहरूको नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।