काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईं कारबाहीको लागि सिफारिसमा परेका छन् । शुक्रबार बसेको प्रदेश १ कमिटीको बैठकले प्रसाईंलाई पार्टीको केन्द्रीय सदस्यबाट निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।
पार्टीको नीति सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै उनलाई कारबाही गर्न प्रदेशले माथिल्लो कमिटीलाई सिफारिस गरेको हो । केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि उनलाई पार्टीबाट हटाउनुपर्ने माग उठ्दै आएको थियो । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन् ।
बैठकले अन्य ८१ जना प्रदेश कमिटी सदस्यलाई कारबाही गरेको छ । प्रदेश कमिटीको जिम्मेवारीमा रहेर ५ पटकसम्म बैठकमा अनुपस्थित भएकाहरुलाई कारबाही गरिएको एमाले प्रदेश कमिटीका सचिव चिन्तन पाठकले बताए ।
प्रदेश कमिटीले स्थानीय तहदेखि प्रदेश र प्रतिनिसभाको निर्वाचनमा पार्टीविरुद्ध बागी विद्रोही भएकाहरुलाई पार्टीबाट निष्कासन गरेको छ ।