काठमाडौं । टर्की र सिरियामा सोमबारको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा २३ हजार ८३१ पुगेको अधिकारीहरूले जनाएका छन् ।
भूकम्पमा परी टर्कीमा मात्र २० हजार ३१८ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजार ५२ जना घाइते भएका सीएनएनले उल्लेख गरेको छ ।
भूकम्पमा परी सिरियामा हालसम्म तीन हजार ५१३ जनाको मृत्यु भएको छ । त्यसमध्ये उत्तरपश्चिममा विद्रोही नियन्त्रित क्षेत्रहरूमा दुई हजार १६६ जनाको मृत्यु भएको छ ।
सिरियाली सरकारी सञ्चारमाध्यमले सिरिया सरकार नियन्त्रित भूभागमा एक हजार ३४७ जनाको मृत्यु भएको जनाएको सीएनएनले उल्लेख गरेको छ ।
स्थानीय समयानुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७।८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १७।९ किमि गहिराइमा थियो ।
सोमबारै दिउँसो टर्कीमा अर्को शक्तिशाली भूकम्प गएको थियो । ७।५ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रविन्दु कहरामनमारस प्रान्तको एल्बिस्तान जिल्लामा रहेको छ ।
भूकम्पपछि ६ हजारभन्दा बढी भवनहरू भत्कियो । सडकको खराब अवस्था, हिमपातलगायत कारण खोजी तथा उद्धारकार्यमा कठिनाइ भएको थियो ।
उक्त भूकम्पबाट टर्कीमा एक करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । विभिन्न १० प्रान्तका सहर बढी प्रभावित भएका हुन् । बीबीसी