काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रोजगारी गर्न गएका नेपालीका लागि आईपीओ निष्कासन गरेपश्चात् दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा निष्कासन अवधि फागुन ८ गतेसम्म लम्बिने बताइएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । साथै लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर एपमार्फत पनि आईपीओमा आवेदन गर्न सक्नेछन् ।
कम्पनीले सर्वसाधारणलाई छुट्याएको कुल पाँच करोड रुपैयाँ बराबरको पाँच लाख कित्ता मध्ये १० प्रतिशत अर्थात५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ ।