काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले देशको आर्थिक संकट समाधान गर्न सरकारको ध्यानाकर्षण गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल लगायतको शीर्ष नेतृत्व पुगेर ज्ञापनपत्र बुझाएको हो।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेको ज्ञापनपनत्रमा राजस्वले नियमित खर्च समेत धान्न नसक्ने अवस्था सिर्जना भएको‚ ब्यांकको ब्याज चर्को भएकाले ऋण लिएर व्यवसाय गर्ने अधिकांश साना र मझौला व्यवसायी धराशायी हुने अवस्थामा पुगेको उल्लेख छ। यस्तै‚ ब्यांक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेर दैनिकजसो किसान तथा साना र मझौला व्यवसायीहरूले आत्महत्या गरिरहेका एकीकृत समाजवादीको ठहर छ।
देशमा गरिखाने वातावरण नभएकाले युवाको विदेश पलायन तीव्र भइरहेको‚ दैनिक उपभोग्य वस्तुको मूल्यमा अत्यधिक बढेकाले जनजीवन कष्टकर भएको एकीकृत समाजवादीले बताएको छ।