काठमाडौं । सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ चलिरहेको छ ।
सर्वोच्चको संवैधानिक इजालसमा जारी सुनुवाइमा निवेदकको तर्फबाट सुरेन्द्र भण्डारीले बहस गर्दै रवि लामिछाने अहिले नेपाली मूलका विदेशी नागरिक भएको दाबी गरेका छन् । उनले बहस गर्दै रविले आफूलाई कानूनभन्दा ठूलो ठानेको जिकिर गरे ।
रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता रमण कर्ण, निकिता ढुंगाना, अमृत खरेललगायतले एउटै बहस नोट पेश गर्दै लामिछानेले नेपाली नागरिकता आफुखुशी त्यागेर अमेरिकी नागरिकता त्यागेको तर अमेरिकी नागरिकता त्यागिसकेपछि नेपालको नागरिकता लिन प्रक्रिया सुरु नगरेको बताएका छन् ।
अधिवक्ता रमण कर्णले अमेरिकी नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएपछि र त्यस्तो निस्सा दर्ता भएपछि मात्र नेपाली नागरिकता सक्रिय हुने बताए । तर रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि स्वतः नेपाली नागरिकता सक्रिय हुने भनी गरेको दावी कानुन विपरीत रहेको उनले बताए ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा। आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा सुरुमा रिट निवेदकको तर्फबाट बहस भइरहेको छ ।