काठमाडौं । बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछाने आज जेलमुक्त हुँदैछन्। उच्च अदालत (पाटन) ले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न हिजै (बिहीबार) आदेश दिएको हो। तर, उनले हिजो नगद धरौटी बुझाउन नसक्दा थुनामुक्त नभएका हुन्। आज सो नगद बुझाएमा उनी रिहा हुनेछन्।
जिल्ला अदालत काठमाडौंको गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो। तर, उच्चले जिल्ला अदालतको आदेश उल्टाउँदै रिहा गर्न आदेश दिएको हो।
जिल्ला अदालत काठमाडौंले पीडित किशोरीको उमेरको लागि अस्पतालबाट जन्मदर्ताको प्रमाणपत्र मगाउन आदेश दिएको थियो। गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो।
असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थल अवतरण भएपछि पक्राउ परेका हुन्।
१७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगेका हुन्। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ।
अदालतको आदेश अनुसार सन्दीप केन्द्रीय कारागार सुन्धारामा छन्। रिहा भएपछि सन्दीपले पीडित किशोरीको बारेमा कुनै टिप्पणी गर्न पाउने छैनन्। विदेश जान र काठमाडौं उपत्यका छोड्न रोक लगाइएको छ। अदालतले तोकेको शर्त नमाने यो आदेश तत्काल रद्द हुनेछ।