काठमाडौं । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई सहुलियत दरमा शैक्षिक ऋण उपलब्ध गराई उच्च शिक्षा हासिल गर्ने अवसर दिनु पर्ने बताएका छन् ।
भक्तपुर नगरपालिकाको आयोजनामा नगरभित्र रहेका सहकारी संस्थाअन्तर्गत लेखा समितिका पदाधिकारीहरुको भेलामा उनले सहकारी संस्थाहरुले शैक्षिक ऋण उपलब्ध गराई उच्च शिक्षा हासिल गर्ने अवसर दिए सिंगो देश र समाज शैक्षिक रुपमा अगाडि बढ्न टेवा पुग्ने बताएका हुन् ।
यस्तै कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले सहकारी संस्थाको लेखा समितिका पदाधिकारीहरु इमानदार हुनुमा संस्थाको दिगो हित हुने बताउँदै भक्तपुर नपाले आर्थिक पारदर्शिता र जनता केन्द्रित गतिविधि गरेकै कारण व्यापक जनताको हितमा काम गर्न सफल भएको बताए ।
बहुउद्देश्यीय सहकारी संस्थाहरुले ब्याजको लोभ देखाइ सदस्यहरुको रकम लिएर भाग्ने क्रम बढेसँगै धेरै जनता यस समस्याबाट पीडित बनिरहेको सन्दर्भ जोड्दै उनले भक्तपुर नपाले बहुउद्देश्यीय सहकारी संस्चालनमा रोक लगाइराखेको र त्यस्तो संस्थामा जनतालाई रकम जम्मा नगर्न र सदस्य नबन्न सचेत पार्ने कार्य गर्दै आइरहेको बताए ।
उनले आर्थिक अनियमिताका कारणले धेरै संघ संस्था र व्यक्तिहरु बद्नाम भइरहेको हुँदा आर्थिक कारोबार गर्नेहरु सचेत हुनुपर्नेमा जोड दिनुहुँदै हाम्रो लगनशीलता र इमानदारिताले हामीलाई पतनमा जाने हो कि अग्रपंक्तिमा जाने निश्चित गर्ने बताए ।
त्यस्तै भनपा सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले भक्तपुरका सहकारीहरु सहकारीको मूल्य मान्यताभित्र रही काम गरे कुनै पनि आर्थिक संकट नआउने बताउनुहुँदै अनुत्पादक क्षेत्रमा लगानी नगर्न सहकारी संस्थाहरुलाई आग्रह गरे ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका तर्फबाट प्रतिनिधि जगन्नाथ प्रजापतिले सहकारीका सञ्चालक र लेखा समितिका पदाधिकारीहरुले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिँदै लेखा समितिको नियमित बैठक नबस्दा सहकारी क्षेत्रमा समस्या निम्तिन सक्नेतर्फ सचेत पारे ।
सहकारी समितिका सदस्य हरिरत्न गोर्खाली र नारायणप्रसाद त्वानाबासुले सहकारी संस्थाको वर्तमान अवस्थाबारे आआफ्नो धारणा राखे ।